कञ्चनपुरका जीवनले ल्याउँदैछन् डोटेली भाषाको चलचित्र ‘माउडे’, जसमा पाइनेछ साउथ इन्डियन ‘फ्लेवर’
धनगढी: कञ्चनपुरका जीवन सिंह आजभोलि ‘माउडे’को क्लाइमेक्स निर्माणमा व्यस्त छन्। माउडे उनले निर्माण गरिरहेको ‘मास मसाला’ चलचित्र हो। यसअघि डोटेली भाषामा ४ वटा चलचित्र निर्माण गरिसकेका जीवनका लागि यो एउटा नयाँ अभ्यास हुनेछ। भीमदत्त नगरपालिका–८ तिलाचौरका उनले माउडेमा लभ र एक्सन सँगै दिन खोजेका छन्। माउडेको ट्रिजर हेरेर पनि थाहा हुन्छ उक्त चलचित्रमा साउथ इन्डियन चलचित्रको ‘फ्लेवर’ छ।
उमेरले २६ वर्ष मात्रै कटेका जीवन सिंहलाई चलचित्र निर्माणको क्रेज पहिलेदेखि नै थियो। ‘म सानैदेखि विभिन्न चलचित्र हेरेर निर्देशन र सम्पादन गर्ने प्रयास गरिरहन्थे’ उनी भन्छन्, ‘चलचित्र कसरी बनाइन्छ भनेर मैलै विभिन्न भिडिओ हेरेको थिए। त्यहिँबाट सिकेर प्रयास गरिरहेको छुँ।'
कलिवुडमा नेपाली भाषामा नै विभिन्न चलचित्र निर्माण हुने भएकाले सुदूरपश्चिम चिनाउने डोटेली भाषालाई सम्बद्र्धन तथा संरक्षण गर्न डोटेली भाषामा चलचित्र बनाइरहेको उनले बताए। भारतमा हिन्दी भाषा बाहेक तेलगु भाषामा बनेका चलचित्र हिट भइरहेका छन्। सोही कारण नेपालमा पनि डोटेली भाषालाई चर्चित बनाउन आफूले प्रयास गरिरहेको जीवनले बताए। ‘हाम्रो सुदूरपश्चिममा राम्रा–राम्रा कलाकार छन् तर अवसर नपाएर उनीहरुको कलाकारिता विलिन हुँदैछ। लुकेर बसेका कलाकारलाई सबैसामू चिनाउन मैले डोटेली भाषामा चलचित्र बनाउँदैछु’ उनले भने।
अहिले ट्रिजर मात्रै रिलिज भएको माउडेको भदौ २० गते ट्रेलर रिलिज गर्ने निर्माणकर्ताको तयारी छ। ‘ट्रेलर रिलिज भएपश्चात लकडाउन खुलेको पहिलो हप्तामै महेन्द्रनगरको सिनेमाहलमा माउडे रिलिज हुन्छ’ जीवनले भने।
जीवन सिंह र सुरज भण्डारी निर्माता रहेको माउडेको राज ए भट्ट र दामोदर साउँद सह–निर्माता रहेका छन्। उक्त चलचित्रको निर्देशन, कथा, सम्पादन, छायांकन, पटकथा र संवाद स्वंय जीवनले हेरिरहेका छन्। यस्तै नरेश सिंह, मनीषा बोहरा, इशा बम, सुरज भण्डारी, लाल थापा, हर्क क्षेत्री, निरज भण्डारी, राम सिंह लगायतको कलाकारिता माउडेमा हेर्न पाइनेछ।