सुदूर नेपाललाई विश्वसँग जोड्दै

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

२०७८ साउन २४, ०१:३४ खबर संवाददाता

काठमाडौंः  ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ  र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन्।  यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन्।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो। एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए। शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिएका छन्। टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन्। यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए। यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो।

कमेन्ट लोड गर्नुस