दशक पहिलेका डेउडा गीत टिकटकमा छन् भाइरल
धनगढी : सर्जक स्वयंले गीत गाउन छोडेको दशक बढी भइसक्यो। तर उनै सर्जकले बजारमा ल्याएको ‘कोइली मिठो गीत गाउँछ’ अहिले हिट छ। बासुदेव रेग्मी र हरिना साउँदको स्वरमा झण्डै दुई दशक अगाडि बजारमा उक्त ल्याइएको गीत अहिलेका युवायुवतीले हिट बनाएका हुन्।
उक्त गीतमा हजारौले टिकटक बनाएका छन्। सुदूर र मध्यपश्चिम मात्र नभई पूर्वी नेपालका युवायुवतीको रोजाइमा ‘कोइली मिठो गीत गाउँछ’ रोजाइमा परेको छ। गायिका साउँदलाई ठ्याक्कै सम्झना छैन त्यो गीत गाएको मिति। तर अहिलेका युवा पुस्ताले मन पराएको सुन्दा उनी दंग छिन्। ‘डेउडा गीत युवा पुस्ताले मन नपराउँदा हराउँदै गयो भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘धेरैले त पुरानो शैलीमा ल्याइएका गीत नचलेको भन्दै मौलिकता बिगार्न पनि खोजे। तर अहिले डेढ÷दुई दशक पहिले ल्याइएका गीत हिट भएपछि मौकिल डेउडा नै चल्छन् भन्ने पुष्टि गरेको छ।’
१७ एल्बमका सर्जक डिल्लीराज फुलारा साउनमा ५० वर्षकै उमेरमा अस्ताए। तर उनको ‘पहाड जाने बस’ धेरै सुनिन थालेको छ अहिले। डेढ दशक अगाडि बजारमा ल्याइएको ‘पहाड जाने बस’ ले युवा पुस्तामाझ उनलाई परिचित बनाइदिएको छ। यो गीतमा हजारौँले टिकटक भिडियो बनाउँदै अभिनय कला प्रस्तुत गरेका छन्।
डेउडालाई पूर्वी नेपालमा विस्तार गर्ने गीत ‘हट बाइजाउ बम्बैका कुना पैरेली लण्डनकी सारी’ गीत पनि हो। यो गीतमा टिकटक भिडियो बनाउने सुदूरपश्चिम र मध्यमपश्चिमका भन्दा पूर्वी नेपाली बढी छन्। १३ वर्ष अगाडि युवट्युवमा अपलोड भएको यो गीत झण्डै चार लाखले हेरका छन्। धमाधम टिकटक बनेपछि मात्रै युवट्युवमा अपलोड भएको गीत १३ वर्षपछि हेर्न थालिएको हो।
पछिल्लो समय बजारमा ल्याएका गीतभन्दा डेढ÷दुई दशक अगाडि बजारमा ल्याइएका गीत युवा पुस्ताको रोजाइमा परेका छन्। कर्णालीका भेल, बल्ल लैजा सेरी, मालुपात, एकसरा गोडेका धान लगायतका दर्जनौँ डेउडा गीतमा हजारौँले टिकटक भिडियो बनाएका छन्।
लोक तथा डेउडा गायक सुरत रावत डोटेली कान्छा पुरानो शैलीका डेउडा युवा पुस्ताले मन पराउँदैन भन्नु गलत हो। ‘अहिले टिकटकमा हिट भएका गीत डेढ÷दुई दशक अगाडि पनि निकै चलेका हुन्,’ उनले भने, ‘पछिल्लो समय युवा पुस्ताले डेउडा मन पराउँदैनन् भनेर मौलिकता बङग्याएर गीत ल्याइयो। तर अहिले टिकटकमा पुरानो गीत नै चले।’ उनका अनुसार पछिल्लो समय मेला, महोत्सवलाई मात्रै लक्षित गरेर गीत आउन थालेका छन्। ‘स्टेज कार्यक्रमका लागि मात्रै गीत ल्याइन्छ। तर पहिले भने डेउडा गीत भने डेउडा पारखी स्रोताका लागि ल्याइन्थ्यो,’ रावतले भने।