धनगढीमा हुर्किएकी कञ्चन, टिकटकमा यसरी भइन् चर्चित
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा जन्मिएकी कञ्चन बराल धनगढीमै हुर्किइन्। जुगेडाकै विद्यालयमा माध्यमिक शिक्षा उत्तिर्ण गरेकी उनको बाँकी अध्ययन भने कैलाली बहुमुखी क्याम्पसमा भयो। सात वर्ष अगाडि चितवनका युवकसंग विवाह गरेकी कञ्चनको अहिले पनि धनगढी आउजाउ नियमित जस्तै छ।
पछिल्लो केही वर्षदेखि रमाइला र रचनात्मक भिडिओ बनाउनका लागि टिकटक लोकप्रिय माध्यम बनेपछि कञ्चन पनि भाइरल भएकी छिन्। टिकटकमा सक्रिय हुन थालेको कञ्चनलाई दुई वर्ष भएको छ। दुई वर्षको अवधिमा उनलाई ८ लाख ७३ हजार बढीले ’फलो’ गरेका छन्। उनका भिडिओमा ३ करोढ २९ लाख लाइक छ। उनको सबभन्दा रूचाइएको फेस डान्स अर्थात् अनुहार नचाउने कला हो।
उनी भन्छिन्, ‘कमेडी भिडिओबाट टिकटक सुरू गरेकी थिए। अहिले रोबोट डान्स, फेस डान्स, पपेट डान्स र बेली डान्सका साथै रियाक्सन भिडिओ पनि बनाउँछु।’ उनी आफ्ना नाक, आँखा, मुख, कान, आँखीभौं, गाला, निधार लगायत अनुहारका विभिन्न अंग संगीतको तालमा नचाउन सक्छिन्।
एक भारतीय टिकटक प्रयोगकर्ता मोहित टन्डनबाट प्रभावित भएर फेस डान्स सिकेको उनी बताउँछिन्। ’सुरूमा गाह्रो भयो। तर अभ्यास गरेपछि अहिले सहज भएको छ।’ ४ वर्षका छोराकी आमा कञ्चन त्यसअघि स्कुलमा पढाउँथिन्। अहिले भने उनी गृहिणी हुन्।