सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा वडाध्यक्षकी आमाको हत्याः नातिले नै नाक, कानको मुद्री लुट्न हँसियाले हजुरआमा मारे

२०७८ असोज २, १२:५५ आशिष मल्ल

धनगढी: बझाङको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रीखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए। रीखीदेवी रामबहादुर बस्ने घरभन्दा करिब १ सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति शुवाससँग बस्दै आएकी थिइन्।

वडाअध्यक्ष रामबहादुरले सबै आफन्तकहाँ सोधीखोजी गरिसकेको र घरको तेस्रो तलामा रगतका छिटा फेला पारेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए। साथै उनले घरको बारीमा खनेको जस्तो आलो माटो समेत फेला पारेको भन्दै प्रहरीलाई बताएका थिए। 

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी बझाङको टोली भदौ ३१ गते गाउँमा पुगेको थियो। प्रहरी टोलीले सुक्ष्मरुपमा घटनास्थलको अनुसन्धान गर्दा घरको तेस्रो तलामा घटना घटेको तथ्या फेला पार्यो। साथै हत्यापश्चात शव तानेर घरको पूर्वतर्फ रहेको बारीमा लगेको प्रमाण समेत प्रहरीले फेला पारेको थियो।

नभन्दै उक्त आलो माटो भेटिएको ठाउँमा खन्दा रीखीदेवीको शव फेला पर्यो। उक्त घटनापछि रामबहादुरका छोरा अर्थात रीखीदेवीका नाति शुवास बेपत्ता थिए। प्रहरीलाई उनीमाथि नै शंका लाग्यो। मोबाइल लोकेसन हेर्दा शुवासको मोबाइल सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित  लौवादेव डाँडामा देखाइरहेको थियो। त्यसपछि प्रहरी टोलीले उनलाई त्यहिँबाट समात्यो। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार शुवासलाई सोधपुछ गर्दा हजुरआमाले नाक र कानमा लगाएको मुद्री लुट्न हत्या गरेको स्वीकार गरेका छन्।

यस्तो छ उनको बयान
म र मेरी बज्यै(हजुरआमा) सँगै एउटै घरमा बस्थ्यौं। भदौ २७ गते बिहान ८/९ बजेको समयमा मैले उनलाई हँसिया हानेको थिए। हँसिया प्रहारपछि रगताम्य भएकी बज्यैको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा मुन्द्री निकाले। मेरो कपडामा पनि रगत लागेको थियो। मैलै त्यो कपडा फुकालेर शौचालयमा राखेर बजार गए। दिउँसो बजारमा त्यो सुन बेचेर आएपछि साँझ करिब ७ बजेतिर उनको(रीखीदेवी) शवलाई घिसार्दै बारीमा लगे र खाल्डो खनेर पुरे।

पक्राउपछि शुवासका सहोदर काका देवराज जप्रेलले उनी विरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरेका छन्। सोही अनुसार अदालतबाट ७ दिन म्याद थप अनुमती लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक खड्काले बताए। 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस