दशैंमा गायक प्रमोद खरेलद्वारा अत्तरियामा प्रस्तुती
धनगढीः गायक प्रमोद खरेलले अत्तरियामा दशैं विशेष प्रस्तुती दिने भएका छन्। उनी अत्तरियामा रहेको होटल नमस्ते र क्युरिक्स डान्स स्टुडियोले आयोजना गर्ने एक दिने सांगितिक साँझ (दशैं नाईट विथ् प्रमोद खरेल) कार्यक्रमका लागि असोज २२ गते अत्तरिया आउन लागेका छन्। बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै सोबारे जानकारी गराइएको हो। कार्यक्रममा गायक खरेलले आफ्ना विभिन्न प्रस्तुती राख्ने छन्।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक होटल नमस्तेका सञ्चालक लक्ष्मण धामीले कोरोना महामारीका कारण तनावग्रस्त जिवन विताइरहेका बेला सांगितिक साँझ मार्फत यस क्षेत्रका दर्शकलाई मनोरञ्जन दिन कार्यक्रमको आयोजना गर्न लागिएको बताए। उनले कार्यक्रम साँझ ५ बजे देखि राती ९ बजे सम्म संचालन हुने बताए। कार्यक्रम होटल नमस्तेकै हलमा हुने जनाईएको छ। हल ५ सय जना क्षमताको भएपनि कोरोना महामारीका कारण सामाजिक दुरी कायम गराउन २ सय ५० जना मात्रै दर्शक कार्यक्रममा सहभागि गराईने आयोजकले जनाएको छ।
आयोजक क्युरिक्स डान्स स्टुडियोका संचालक हरिश खडायतले सांगितिक साँझमा प्रमोद खरेलका अलावा स्थानिय कलाकारको पनि प्रस्तुती रहने बताए। कार्यक्रममा सहभागिताका लागि १ हजार ५ सय टिकट शुल्क तोकिएको आयोजकले जनाएको छ।