सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

२०७५ मंसिर २६, ०३:०८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ सेन्टर सञ्चालन गरिएको हो । सबै बर्थिङ सेन्टरमा प्रयोगशाला समेत स्थापना गरिएका छन् । 

बर्थिङ सेन्टरमा मासिकरुपमा २५ बढी महिलाले प्रसूति गराउँदै आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तीर्थराज भट्टले भने– “नियमित गर्भ जाँच गराउने र प्रसूति हुन आउने महिलालाई प्रोत्साहन भत्ताको रकम दिन थालिएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या नगन्य रहेको छ ।” नियमित गर्भजाँच गराउनेलाई ८०० र बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई एक हजार प्रोत्साहन रकम प्रदान गरिँदै आएको छ । उनका अनुसार गर्भजाँच गराउन आउने महिलाको सङ्ख्या मात्रै दैनिक १० देखि १५ सम्म रहेको छ । गर्भवती भएकामध्ये बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाको सङ्ख्या ९५ प्रतिशत रहने गरेको छ । जटिल प्रकारको प्रसूतिका लागि बर्थिङ सेन्टरबाटै एम्बुलेन्सको व्यवस्था गरी सुविधायुक्त अस्पतालमा पठाउने गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । 
 

कमेन्ट लोड गर्नुस