सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्याडमिन्टनको उपाधि चन्द र पन्तको जोडीलाई

२०७८ असोज २१, १०:५१ रासस

महेन्द्रनगर: दसैँ र तिहारका अवसरमा कञ्चनपुरमा आयोजित जिल्लास्तरीय सिनियर डवल्स व्याडमिन्टन प्रतियोगिताको उपाधि लक्ष्मण चन्द र भोजराज पन्तको जोडीले जितेको छ। कञ्चनपुर जिल्ला व्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको बिहीबार साँझ फाइनल खेलमा दिलबहादुर धामी र पवन सिंहको जोडीलाई सोझो सेटमा पराजित गर्दै चन्द र पन्तको जोडीले उपाधि जितेको हो।

उपाधि विजेता टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पुरस्कृत गरे। जुनियर एकलतर्फ प्रकाश चन्दले उपाधि जितेका छन्। फाइनल खेलमा चन्दले सौरभ बमलाई सोझो सेटले पराजित गरेका थिए। विजेता चन्द पाँच हजार र ¥याकेटसहित पुरस्कृत भएका छन् भने उपविजेता बमले तीन हजारसहित पुरस्कृत भए।उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले चालु बर्षभित्रै कञ्चनपुरमा बहुउद्देश्यीय कवर्डहलको निर्माण सुरु हुने बताए। “अहिले डिपीआर बनाउने काम भइरहेको छ”, उनले भने।

उनले कोभिडका कारण खेल क्षेत्रको बजेट प्रदेश सरकारले अन्यत्र सार्नु परेकाले खेलकुद क्षेत्र यहाँ ओझेलमा परेजस्तो देखिएको बताए। उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा खेल संरचना निर्माण तथा प्रतियोगिता सञ्चालनमा प्रदेश सरकार सक्रिय रहेको बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, व्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतको सहभागिता थियो। गत असोज १६ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियरतर्फ जिल्लाभरबाट ५८ टिम र जुनियरतर्फ २२ जनाको सहभागिता रहेको प्रतियोगिताका संयोजक कञ्चनपुर व्याडमिन्टन सङ्घका उपाध्यक्ष शेरबहादुर सिंहले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस