महानायक विवाद : भुवन केसी अभिनित ‘डाँडाको वर पिपल’लाई चार गुणा डिसलाइक
धनगढी ः मंगलबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘डाँडाको वरपीपल’ को एउटा गीत तीन साता अगाडि सार्वजनिक भएको थियो। बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको यो गीतमा लाइकभन्दा डिसलाइक धेरै आएको छ।
अहिलेसम्म ३ लाख ९६ हजार भन्दा धेरै पल्ट हेरिएको यो गीतमा १३ हजार लाइक छन् भने ४९ हजार डिसलाइक देखिएको छ।
भिडियोको तलपट्टी आएका धेरैभन्दा धेरै कमेन्टहरु राजेश हमालका पक्षमा लेखिएका छन्। धेरैले राजेश हमाललाई नछुन आग्रह पनि गरेका छन्।
यस्तै केही दिन अगाडि सार्वजनिक भएको यही चलचित्रको ट्रेलरमा पनि लाइकभन्दा डिसलाईक धेरै आएको छ। हालसम्म ४ हजार ८ सय जनाले लाइक गरेको यो भिडियोमा १० हजारले डिसलाइक गरेका छन्।
शोभित बस्नेतले निर्देशन गरेको यो चलचित्रमा नेपाली चलचित्र क्षेत्रमा नाम कमाएका कलाकारहरु छन्। शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापासँगै भुवन केसीले पनि फुटकर भूमिका निभाएका छन्।
चलचित्रको गीत सार्वजनिक गर्ने कार्यक्रमदेखि ट्रेलर सार्वजनिक कार्यक्रम, अनि त्यसपछिका हरेक सार्वजनिक अभिव्यक्तिमा सोभित बस्नेत, भुवन केसीले महानायक राजेश हमाल नभई अरु कोही हुनुपर्ने दाबी गरेका थिए।