सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नाटक घर खोल्ने तयारीमा धनगढीका पुष्पराज

२०७८ कार्तिक ११, ०४:०७ खबर संवाददाता

धनगढी: धनगढीका पुष्पराज अवस्थी एमबिएस पास गरेर अभिनय, नाटक लेखन, निर्देशन तथा निर्माणमा लागेका छन्। साँस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) बाट ६ महिने अभिनय तथा निर्देशनको  प्रशिक्षण लिएका उनले सुनिल पोखरेलद्वारा सञ्चालित ‘ज्ञ थिएटर’ बाट पनि ६ महिना अभिनय तथा निर्देशन प्रशिक्षण लिएका छन्। 

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकबाट आयोजित नाट्य कार्यशालामा सहभागी भएका उनको कलाकारिताको अनुभव पनि गजबको छ। उनले योगमाया, जयामाया आफू मात्रै लेखापानी आइपुगी, रात चिर्न्या भानु, सातुको कथा, लिलामे माईलो, बहुला काजीको सपना, शिलान्यास, पत्थरको कथा आदि गरी करिब डेढ दर्जन भन्दा बढी रङ्गमञ्चका नाटकमा अभिनय गरेका छन्।

हराएकी म, तिनीहरु कहाँ गए होलान्, बोकाको आत्मकथा, भूमिका, छाउ, कठै तिन माष्टर, बहुला काजीको सपना आदि जस्ता करिब एक दर्जन रङ्गमञ्चका नाटकहरुको निर्देशन समेत उनले गरेका छन्। त्यस्तै मेरी बास्सै, भद्रगोल, जीवनचक्र, डिठ्ठा साब, मानव, हाम्री झ्याउकिरी, अड्डा  जस्ता करिब एक दर्जन बढी टेलिसिरियलमा अभिनय तथा आधा दर्जन टेलिसिरियलमा मुख्य सहायक निर्देशक भएर काम गरेका उनी अहिले आफूपनि प्रशिक्षक छन्। 

काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी करिब दुई दर्जनभन्दा बढी विद्यालयमा अभिनयको प्रशिक्षण प्रदान गरिरहेका छन्। अहिले उनी नाटकको विषयलाई लिएर हुने कार्यक्रमहरुमा आफ्ना कुरा राख्न र अरुका कुरा सुन्न भाग लिने गर्छन्। देश विदेशमा नाटक मञ्चन गर्ने गरेका छन्।

थाईल्याण्डको बैंककमा आयोजित बैंकक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नाटक मञ्चन गरिसकेका उनको  र भारतको उडिसामा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो निर्देशनमा रहेको नाटक मञ्चन गरे। अब भने उनी सुदूरपश्चिममा नाटक घर खोल्ने तयारीमा छन्। यदि उनको यो काम सफल भयो भने उनी सुदूरपश्चिममा पहिलो नाटक  घर बनाउने व्यक्ति हुनेछन्। उनले भने ‘एउटा सपना छ जसमा म काम पनि गर्दै छु त्यो हो सुदूरपश्चिममा पहिलो नाटक घर बनाउने।’ उनले थपे ‘म पहिलो नाटक घर भन्दै छु कारण अरु पनि पहिलो हुन सक्नुहुन्छ। सुदूरपश्चिममा नाटक घरको खुबै आवश्यकता जसले पूरा गरे पनि हुन्छ तर प्रतिस्पर्धा होस् भन्ने म चाहन्छु।’

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान, शैली थिएटर र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रद्वारा २०७७ मा आयोजित १२औं राष्ट्रिय बाल नाटक महोत्सवमा उनै अवस्थीको लेखनमा तथा निर्देशनमा रहेको नाटक ‘भूमिका’ उत्कृष्ट नाटकबाट पुरस्कृत भएको थियो। यस्तै फस्ट एस जि नेशनल मोनोएक्ट फेस्टेभलमा उनकै लेखन तथा निर्देशनमा रहेको नाटक  ‘तेरी खान्या कोरोना’ उत्कृष्ट नाटकको रुपमा पुरस्कृत भएको थियो। उनी काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित दोस्रो राष्ट्रिय एकल नाटक महोत्सवमा ‘थिएटर एजुकेसन सम्मान २०७५’ बाट सम्मानित भएका थिए। 

उनलाई यो क्षेत्रमा लाग्नुको उदेश्य के हो भनेर गरिएको प्रश्नमा उनले भने, ‘रंग मञ्चको ज्ञान बाँड्दै बालबालिकाहरुलाई विद्यालयमा मात्रै सिमित नराखेर रङमञ्चसम्म पुर्याउने हो।’ रंग मञ्चमाकाम गर्न  विद्यार्थीहरु पनि उत्साहित हुने गरेको पनि उनले बताए। ‘सुरुमा बुझाउन गाह्रो हुन्छ तर जब बुझ्छन् तब उनीहरुलाई छनोट गर्दा सिमितलाई छनोट गर्नुपर्ने भएकोले कसलाई छान्ने त्यसमा गाह्रो हुन्छ’ उनले भने।

आम विद्यार्थीहरुको अभिभावकले चाहिँ यो कुरालाई कसरी लिएको पाउनु हुन्छ ? भन्ने प्रश्नमा भने उनले भने, ‘अभिभावकलाई पनि त्यहीँ सुरुमा किन त्यसमा समय लगाउने भन्ने किसिमको सोच राख्नुहुन्थ्यो। जब विद्यार्थीहरुको व्यक्तित्वमा परिवर्तन आएको देखेपछि सिकाइ दिनको लागि आग्रह गर्छन्। अहिले माग यति छ कि मैले एक्लैले भ्याउन नसकिने स्थिति छ।’

 

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, कलाकार, नाटक निर्देशक पुष्पराज अवस्थीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।) 


 

कमेन्ट लोड गर्नुस