र्यापर आशिष राना ‘लाउरे’ सहित ४ जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति
पोखराः लागूऔषधसम्बन्धी आरोपमा पक्राउ परेका र्यापर आशिष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
यसअघि अदालतले उनीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो।
लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनले छुट दिएको छ। ‘पहिलो मितिको म्याद सकिएपछि दोस्रो पटकको म्याद थपिएको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने, ‘अनुसन्धान अधिकृतहरुले अनुसन्धान गर्दै हुनुहुन्छ।’
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय र्यापर लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङ ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ परेका थिए।