सुदूर नेपाललाई विश्वसँग जोड्दै

कविता तथा निबन्ध प्रतियोगिताका विजयी पुरस्कृत

२०७८ फाल्गुन ६, ०४:११ रासस

काठमाडौँ: बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता तथा निबन्ध प्रतियोगिताका विजयीलाई आज पुरस्कृत गरिएको छ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज आयोजित कार्यक्रममा ती पुरस्कार प्रदान गरेका हुन्। उक्त राष्ट्रिय भावना र लोकतान्त्रिक चेतनाको भावमा आयोजित प्रतियोगितामा कवितातर्फ खोटाङका तेज राई, बैतडीका वासुदेव पाण्डेय ‘प्रभाकर’, ताप्लेजुङका सविता बरालले क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्। निबन्धतर्फ तनहुँका गोविन्दप्रसाद खतिवडा, तेह्रथुमका रेजिना आपगाईं र काठमाडौँका गणेश दङ्गाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका हुन्। 

दुवै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः जनही पचास, चालीस र तीस हजार पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए। समारोहमा प्रथम घोषित निबन्ध र कविता वाचन गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस