पल प्रकरणमा बाबुराम भन्छन्ः ‘मर्दकी दशवटी’ भन्ने मानसिकता लज्जास्पद
काठमाडौंः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन्। उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन्। ट्वीटरमार्फत टिप्पणी गर्दै उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन्।
अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो। यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरु बाहिर आएका छन्। एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ।