सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गेशको बयानः पल कहाँ सुते थाहा भएन, गायिकालाई सल्लाह दिए

२०७८ चैत्र ४, ०२:०७ खबर संवाददाता

धनगढीः नाबालिग गायिकामाथि बलात्कार प्रकरणमा नायक पल शाह तनहुँ प्रहरीको हिरासतमा पुगेकै दिन पूर्वी नवलपरासीमा पनि उनीविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो। पूर्वी नवलपरासीमा तनहुँभन्दा पछि जाहेरी परे पनि हदम्यादका कारण पहिले नै अनुसन्धान सकेर मुद्दा दायर गरिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदनका आधारमा १४ वर्षसम्म कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै बिहीबार मुद्दा दायर गरेको छ। नाबालिग गायिकामाथि बलात्कारको आरोपमा प्रहरीले घटना भएको भनिएको होटलका सञ्चालक र कर्मचारीदेखि पल शाहसँगै सुटिङमा पुगेका व्यक्तिसँग पनि बयान लिएको छ। तर, बयान दिनेमध्ये दुर्गेश भन्ने दुर्गाबहादुर थापाले गत असारमा मात्रै घटनाबारे जानकारी पाएको बताएका छन्। अन्यले भने किटानी जाहेरी परेपछि मात्रै त्यसबारेमा थाहा पाएको बयान दिएका छन्। 

यस्तो छ दुर्गेशको बयान
बयानमा दुर्गेशले म्युजिक भिडियोमा काम गर्ने शिलशिलामा पल शाह र पीडित नाबालिगसँग चिनजान भएको बताएका छन्। २०७७ चैत ७ गते चितवनको सौराहा पुगेका दुर्गेशले पल र पीडितसहितको टिमसँग त्यहीँ भेटेका थिए। ‘तामा पित्तलु’ गीतको भिडियो सुटिङ सकेर बेलुका सुटिङ युनिट गैँडाकोटको रिसोर्टमा पुगेका थिए। ‘दिनभर सुटिङको कामले थाकेको हुँदा म कोठामा गइ सुतेको हो। पीडित पनि उनको कोठामा सुत्न गइन्। पल शाहलगायत व्यक्ति मादक पदार्थ पिएर बाहिरै बसिरहेका थिए। 

निजहरु कुन कोठामा सुते मलाई थाहा भएन’, दुर्गेशले बयानमा भनेका छन्। तर त्यसको भोलिपल्ट बिहान दुर्गेश काठमाडौं फर्किएका थिए। २०७८ असारमा पल शाहकै म्यानेजर कृष्ण जोशीले उनीहरुको सम्बन्धबारे जानकारी गराएको दुर्गेशले बताएका छन्। ‘सो सम्बन्धमा पीडितसँग बुझ्दा 'मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले विवाह गर्छु भनि फकाई फुल्याइ सुटिङको समयमा अन्यत्र गएको अवस्थामा समेत जबरजस्ती करणी गरेको भनी बताएकी हुँदा म सम्राट चौलागाईं, सरोज ओली र योगेश काजी समेतले हामी न्यायको पक्षमा छौँ। तिमीलाई निजले जबरजस्ती करणी गरेको भए कानुनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको मात्रै हो’, दुर्गेशले बयानमा भनेका छन्। 

यो घटनामा दुर्गेशमाथि पलसँग रकम बार्गेनिङको समेत आरोप लागेको थियो। तर दुर्गेशले त्यसलाई अस्वीकार गरेका छन्। 

कमेन्ट लोड गर्नुस