सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री प्रियंका कार्की सीआईबीको फन्दामा

२०७८ चैत्र ६, ०४:३३ खबर संवाददाता

काठमाडौंः नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा तानिएकी छन्। क्रिप्टोकरेन्सीको एउटा विज्ञापनमा उनले पनि लगानी गरेको ‘स्वीकारोक्ति’ भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीमाथि अनुसन्धान सुरु गरेको हो।

सीआइबीको बोलावटपछि नायिका कार्की आज बयान दिन पुगेकी छिन्। सीआइबी प्रमुख धिरजप्रताप सिंहले राज्यले प्रतिबन्ध लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको जानकारी दिए। ‘राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले उनलाई बोलाइएको हो’, डीआईजी सिंहले भने।

सिंहका अनुसार ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको भिडियोमा प्रियंकाले ‘मैले पनि लगानी गरेको छु’ भन्दै बोलेको देखिएको छ। डीआईजी सिंहले थप अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने बताए। यता, नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताइन्। आफू क्रिप्टोकरेन्सीमा संलग्न भने नरहेको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस