सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी घर भएका पलका म्यानेजर आफैँले खनेको खाडलमा परे

२०७८ चैत्र ९, ०४:५० खबर संवाददाता

धनगढीः नायक पल शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जबरजस्ती करणीको जाहेरीमा कृष्ण जोशीको नाम कतै उल्लेख थिएन। नाबालिगका तर्फबाट उनका बाबुले दर्ता गराएको जाहेरीमा शाहविरुद्ध मात्र किटानी गरिएको थियो। तर, प्रहरीले शाहलाई हिरासतमा लिएको एक सातापछि धनगढी घर भएको बताउँने उनका म्यानेजर जोशीलाई पनि पक्राउ गर्‍यो।

मंगलबार तनहुँ जिल्ला अदालतमा दर्ता गराएको अभियोग पत्रमा भने जोशीलाई पनि प्रतिवादी कायम गरिएको छ। शाहलाई हुने सजायको आधा सजाय उनको विरुद्ध माग गरिएको छ। आफूविरुद्ध जाहेरी दर्ता भएको भोलिपल्ट शाहले सामाजिक सञ्जालमार्फत केही अडिओ क्लिपहरू सार्वजनिक गरेका थिए। उनले त्यसमार्फत आफू निर्दोष भएको दाबी गर्दै दुर्गेश थापा, सरोज ओली र कृष्ण जोशी र सम्राट चौलागाईले नाबालिगलाई प्रयोग गरेर आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए।प्रहरीले शाहलाई खोजी गरिरहेका बेला जोशीले एक युट्यूबरलाई अन्तरवार्ता दिए। यो अन्तर्वार्ता उनका लागि निकै घातक बनेको देखिन्छ। उनले त्यसमा थापा, ओली, चौलागाई र आफ्नो व्यक्तिगत रिसईबीका कारण शाहलाई सिध्याउन योजनाबद्धरूपमा षड्यन्त्र गरेको बताएका थिए। शाहलाई मार्नेसम्मको योजना रहेको उनले दाबी गरेका थिए।

उक्त समूहले आफूलाई आर्थिक प्रलोभन देखाएको पनि जोशीको भनाइ छ। उनले गायिकालाई पनि समग्र घटनाक्रममा ‘भिलेन’ का रूपमा चित्रित गरेका छन्। यसरी शाहले आफूलाई सिध्याउन षड्यन्त्र गर्ने भनेर नाम उल्लेख गरेका व्यक्तिले नै गल्ती गरेको बताएपछि प्रहरीले जोशीको खोजी गरेको थियो। अनि पीडित भनिएकी नाबालिगको तर्फबाट उनका बुबाले जोशीविरुद्ध ‘पूरक’ जाहेरी दिए।

नाबालिगले प्रहरीसँग गरेको बयानमा भनेकी छिन्, ‘प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग घुम्न जाऊ, निजले भनेको मान भनी फकाउने र भिडिओ सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबरजस्ती करणी गर्ने कार्यमा सहयोग पुर्‍याई मतियारको रूपमा रहेका हुन्।’ पीडित भनिएकी नाबालिगले पूर्वी नवलपरासीमा शाहविरुद्ध दर्ता गरेको बलात्कारकै अर्को जाहेरीमा भने जोशीलाई प्रतिवादी बनाइएको छैन। जिल्ला सरकारी वकिल कार्यालयले शाहलाई मात्र प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको थियो।

बार्गेनिङ गर्ने योजना बनाइरहेको सुनिने अडिओमा सामेल थापा, ओली र चौलागाईलाई दुवै मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएको छ। यति बेला तनहुँ जिल्ला अदालतमा शाह र जोशीको बयानपछि थुनछेकको बहस तयारी भइरहेको छ। थुनछेकको बहसपछि न्यायाधीशले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश सुनाउनेछन्।

कमेन्ट लोड गर्नुस