जनक रसिकको उपन्यास ‘दोरी’ प्रकाशित
धनगढी: युवा लेखक जनक रसिकको पहिलो उपन्यास ‘दोरी’ प्रकाशित भएको छ। विगत दुई दशकदेखि सुदूरपश्चिममा रहेर साहित्य सृजना गर्दै आएका रसिक यस क्षेत्रमा पठन संस्कृतिको विकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सृजनाका विभिन्न आभियान सञ्चालन गर्दै आएका छन्।
सुदूरपश्चिममा टिकटमा रचनावाचन कार्यक्रमको सुरुवात गरेर यस क्षेत्रका सर्जकहरुको सृजनात्मक सशक्तीकरणमा पनि उनले विशेष पहल गरिरहेका छन्। साहित्यका बहु विधामा कलम चलाउने रसिक सुदूरपश्चिमको समाज, राजनीति र समसामयिक मुद्दामा समेत निरन्तर कलम चलाइरहेका छन्। कविता र गजल विधामा आफ्नो छुट्टै पहिचान बनाएका रसिकका कथा र निबन्ध पनि उति नै रुचाइएका छन्।
२०६३ सालमा सुदूरपश्चिमको पहिलो पूर्ण छन्दमा आधारित गजल संग्रह ‘युगीन सपना’ प्रकाशन गरेका रसिकका संयुक्त गजल र संयुक्त कविता संग्रहहरु पनि प्रकाशित छन्। पछिल्लोपटक राज्यको पुनर्संरचनासँगै स्थापित पहिलो प्रदेशसभा सम्बन्धी ऐतिहासिक पुस्तक ‘नीति निर्माता’ प्रकाशन गरेका रसिक राजनीतिक विश्लेषणमा पनि सशक्त ढंगले कलम चलाउँछन्।
नेपाली साहित्यमा विज्ञान र प्रविधि विषयमा लेखन प्रकाशन खासै नभएको अवस्थामा दोरी उपन्यासमार्फत रसिकले यो विषय सशक्त ढंगले प्रवेश गराएका छन्। काठमाडौंस्थित शिखा बुक्सले प्रकाशन गरेको उपन्यास आगामी साता औपचिक कार्यक्रमका साथ सार्वजनिक हुने बताइएको छ।