सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल प्रकरणः दुवै जिल्लाका मुद्दा एकैठाउँ राखेर हेर्न उच्च अदालतको आदेश 

२०७९ वैशाख १५, ०६:४० खबर संवाददाता

धनगढीः अभिनेता पल शाहविरुद्ध चलिरहेका जवरजस्ती करणीसम्बन्धी मुद्दालाई एकै ठाउँमा राखेर हेर्न उच्च अदालत पोखराले आदेश दिएको छ। तनहुँ र पूर्वी नवलपरासीमा नाबालिग गायिकामाथि बलात्कार आपोपमा चलेका दुवै मुद्दालाई सँगै राखेर हेर्न उच्चले बिहीबार आदेश दिएको हो। उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलका अनुसार दुवै मुद्दा सँगै राखेर हेर्ने आदेश भएको छ।

दुवै मुद्दामा पीडक पनि समान व्यक्ति र पीडित पनि समान व्यक्ति भएको जनाउँदै अदालतले कसुरको  प्रकृति पनि एकैखालको भएकाले सँगै राखेर हेर्न आदेश जारी गरेको हो। नबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा चलेको थियो। ती मुद्दामा सुनुवाइ गर्दै दुवै अदालतले शाहलाई तत्कालका लागि पुर्पक्ष गरेर जेल पठाएका छन्। 

दुवै जिल्लाका अदालतबाट आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए। रजिष्ट्रार पौडेलका अनुसार शाहले दुवै जिल्ला अदालतको आदेश बदर गरेर साधारण तारेख वा धरौटीमा रिहाइको माग गर्दै छुट्टाछुट्टै निवेदन थिए। 

उच्चले दुवै जिल्लाबाट कैफियत प्रतिवेदन पनि मागेको छ। उच्च अदालतमा बिहीबार बसेको पेसीले पीडित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्न भनेको हो। यसबारेमा अर्को साता सुनुवाइ हुने पौडेलले बताए। 
 

कमेन्ट लोड गर्नुस