पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौंः उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न राख्न आदेश दिएको छ। न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए। यसअघि उनलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालत तनहुँको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए।
१७ वर्षीया किशोरीका बुवाले म्युजिक भिडियो छायांकनका क्रममा पलले बलात्कार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी किशोरीले अदालतमा बयान फेरेकी थिइन्। तनहुँ जिल्ला अदालतमा किशोरीका तर्फबाट बकपत्रका क्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन्।
अदालतसमक्ष उनले बकपत्र दिँदा पलले आफूमाथि बलात्कार नगरेको र अरूको उक्साहटमा जाहेरी दिएको बताएकी थिइन्।