धनगढीमा साहित्यिक पुनर्जागरण कार्यक्रम
धनगढी: धनगढीमा साहित्यिक पुनर्जागरण कार्यक्रम सञ्चालन गरिएको छ। शनिबार सृजनशील मञ्च सुदूरपश्चिमको संयोजनमा धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा कार्यक्रमको सञ्चालन गरिएको हो।
यस क्षेत्रका स्रष्टाहरुको पुनःजागरणका लागि 'स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम' को आयोजना गरिएको र कार्यक्रममा चार दर्जन बढी स्रष्टाहरु तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको सहभागिता रहेको बताइएको छ। धनगढीमा नियमित रुपमा सञ्चालन हुँदै आएका साहित्यिक कार्यक्रम 'धनगढी सृजना उत्सव' तथा 'नियमित रचना वाचन शृंखला' कोरोना महामारीका कारण स्थगित भएका हुँदा अब यी कार्यक्रमहरु पुनः सञ्चालन गरिने सृजनशील मञ्चले जनाएको छ।
त्यसैगरी प्रशिक्षण, प्रकाशन, अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि अघि बढाइने संस्थाले जनाएको छ। उक्त कार्यक्रममा रचना वाचनका साथै आगामी कार्ययोजनाबारे छलफल पनि भएको बताइएको छ। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार, प्रदेश युवा परिषदका कार्यकारी सदस्य शेरसिंह बिष्ट, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट लगायतले स्रष्टाहरुको सो अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए। कार्यक्रमको सहजीकरण सृजनशील मञ्च सुदूरपश्चिमका सचिव डिल्लीराज ओझा समर्पणले गरेका थिए।