प्रदीप गिरिको आजै अन्त्येष्टि गरिने, को हुन् गिरि ?
काठमाडौं: नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार राति निधन भएको छ।
७५ वर्षको उमेरमा उनको निधन भएको हो। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेको उनको शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।
निधनपछि उनको आज अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन्।
अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गिय गिरीको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ। त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ।
को हुन् प्रदीप गिरि ?
प्रदीप गिरिको जन्म २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो। बुबा मित्रलाल गिरि र पुण्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए।
नेपालका सबैजसो शान्त्रिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए। त्यसक्रममा उनी कांग्रेसका संस्थापक बिपी कोइरालाका सहयात्रीसमेत भए। बिपीसँग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो। राजनीतिक संघर्षकै क्रममा गिरिले ३ वर्ष जेल जीवन बिताए।
२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी २०५६ को आम निर्वाचनमा पराजित भए । २०६४ र २०७० को संविधानसभामा समानुपातिक सांसद्को रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज २०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन्।
त्यसपछि २०७४ मा भएको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उनी निर्वाचित भए। पकट–पटक सांसद् बनेका गिरिमा सत्ता प्राप्तिको लालशा कहिल्यै देखिएन।
गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।