एकपटक देशको नेतृत्व गर्ने इच्छा छः रामचन्द्र पौडेल
काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए।
'कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ,' पौडेलले भने, 'मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्।' वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गरे।
निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे।