भारतका गृहमन्त्रीका पूर्वस्वकीय सचिव पनि कांग्रेसको समानुपातिक सूचीमा
धनगढीः नेपाली कांग्रेसको राजनीतिमा भर्खरै सक्रिय पाल्पा रामपुरका सन्दीप राना नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फको बन्द सूचीमा समेटिएका छन्। नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रानाको नाम ४२ औँ नम्बरमा छ।
अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानमा समेत आवद्ध राना भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव हुन्। दिल्ली युनिभर्सिटीमा पढेका राना केही समय भाजपा नेता साहको स्वकीय सचिव बनेका थिए। साह अहिले भारतको गृहमन्त्री छन्।
नेपाली कांग्रेसका नेताहरू दिल्ली भ्रमणमा गएको बेला उनी सक्रिय देखिने गरेका थिए। भाजपाका अन्य नेताहरूसँग पनि उनको सम्बन्ध रहेको बताइन्छ। राना पाल्पाबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका थिए।