अछामका माओवादी नेता भण्डारीविरुद्ध अख्तियारमा उजुरी
धनगढीः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सभासद शरदसिंह भण्डारीविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ। आगामी मंसिरमा हुने निर्वाचनमा पनि उनले टिकट पाउने चर्चा चलिरहेका बेला भण्डारीविरुद्ध उजुरी परेको हो।
भण्डारी २०६४ सालको निर्वाचनमा अवैध तरिकाले निर्वाचित भएको भन्दै उनीविरुद्ध उजुरी परेको छ। तत्कालीन संविधानसभा निर्वाचनका बेला भण्डारीको मतदाता नामावलीमा नाम समावेश नभएकाले उनले झुट्टा विवरण पेश गरी उम्मेद्वारी दिएको र गैरकानुनी रुपमा निर्वाचित भएको भन्दै उजुरी गरिएको हो।
उजुरीपत्रमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिबाट भएको सो कार्य अख्तियारको दुरुपयोग हुने हुँदा तत्कालीन संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा १९ को उपदफा (क) बमोजिम अयोग्य ठहरेकाले कानुन बमोजिम अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाई दिनुहुन अनुरोध गरिन्छ।’
यस्तै भण्डारीविरुद्ध अन्य थुप्रै आरोपहरु समेत लागेका छन्। अछाम २ नम्बर क्षेत्रबाट शरदसिंह भण्डारी, राम प्रसाद तिमिल्सिना र अक्कल रावलको नाम सिफारिसमा परेको छ।