सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने काम गर्छुः प्रचण्ड

२०७९ कार्तिक ४, ०७:११ खबर संवाददाता

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन्।

‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन। तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन्ने आकांक्षा छ। आकांक्षा नै नभएको होइन’ प्रचण्डले भने।

अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ। उनी भन्छन्, ‘अब त मलाई धेरै अनुभव भइसक्यो। जनताले पनि मलाई भरोसा गरेकै देख्छु म। त्यो भरोसालाई देशको नेतृत्व गरेर आर्थिक विकासमा फड्को हान्ने, केही ठूला परियोजना र केही साना परियोजनाको संयोजनमार्फत फड्को हान्न मन छ मलाई।’

आफ्नो चाहनामा शेरबहादुर देउवा सकारात्मक रहेको आफूले ‘स्मेल’ पाएको पनि उनको दाबी छ। प्रचण्डले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने र अवसर आए चाहिएन पनि नभन्ने पटक–पटक दोहोर्‍याए। तर, राजनीतिक दल, वौद्धिक जगत, सुरक्षा निकायका अधिकारीहरु, कर्मचारी क्षेत्रका व्यक्तिहरु सबैले आफूलाई भावी प्रधानमन्त्रीका हेरेर सम्बोधन गर्ने गरेको उनले जिकिर गरे।


 

कमेन्ट लोड गर्नुस