शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइनः देउवा
काठमाडौँः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन्। उनले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका हुन्।
पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सोमबार आयोजित भेलालाई सम्बोधन गर्दै देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए। उनले त्यसका लागि नै गठबन्धन बनेको बताए। 'यो आवश्यकताले बनेको गठबन्धन हो। लहडले बनेको गठबन्धन होइन। शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन,' उनले भने, 'गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ।'