सुनिल भण्डारी काँग्रेसमै बस्ने, नातावाद र गुटबन्दीविरुद्ध लड्ने
धनगढीः नेपाली काँग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीबाट अलग नहुने बताएका छन्। बुधबार सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। उनले पार्टीले टिकट नदिएको चित्त दुखेको तर पार्टीबाट अलग नहुने जनाए। उनी नेपाली काँग्रेस पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले त्यो निर्णय नलिने जनाएका हुन्।
‘पञ्चायतका विरुद्ध र जनताको अधिकारका लागि लडेको मान्छे हुँ। आफैले विश्लेषण गर्दा म पार्टीभन्दा बाहिर बस्ने सक्ने अवस्थामा देखिन’, भण्डारीले भने, ‘पार्टीले संसदीय चुनावमा कुनै जिम्मेवारीले दिएन। यसमा चित्त दुखाइ छ। तर, पार्टीमा नातावाद, हैकमवाद गुटबन्दीविरुद्ध मेरो अबको जीवन समर्पण गर्नुपर्छ, गर्छु। पार्टी भित्रको शुद्धीकरणको लागि कार्यकर्ताहरूसँग रहन्छु।’ उनले आसन्न संसदीय चुनावमा पार्टीभित्रको नातावाद, हैकमवाद गुटबन्दीका कारण आफूले टिकट नपाएको दाबी गरेका छन्।
अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भण्डारी अहिले पनि सोही क्षेत्रबाट आकाङ्क्षी थिए। उनी उम्मेदवारका सिफारिस पनि भएका थिए। तर, अन्तिम समयमा डोटीबाट निर्वाचन लड्दै आएका कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरलाई टिकट दिएपछि उनी रुष्ट थिए।
यस्तै उनले आगामी दिनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन आफू लाग्ने पनि बताएका छन्। उनले अघिल्लो पटक बाम गठबन्धन हुँदा आफूले पार्टीको साख बचाएको भन्दै अहिले पार्टीले आफूमाथि अन्याय भएको सुनाए।
‘कसैले हिम्मत नगर्दा मैले उम्मेदवारी दिए। पाँच वर्षको अवधिमा मैले जनमताको अपार समर्थन हुँदा हुँदै पनि मैले टिकट पाउन सकिन’ उनले भने, ‘पार्टीभित्र असहमति राख्ने प्रयास गरे। जसलेको सिकार हुन प¥यो।’ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समकक्षी रहेका भण्डारीले आफूमाथि पटकपटक अपमानित भएको बताए।
‘पार्टीबाट अलग भएको भए मलाई शान्ति हुन्थ्यो। तर, सबैको सुझावले गर्ला मैले यो निर्णय लिए। यसको विकल्प थिएन’ उनले भने, ‘मैले धेरै अपमान सहे।’ यो पार्टीभित्र जन्मेको नातावाद, हैकमवाद प्रवृत्ति, गुट–उपगुटविरुद्ध आफू लडिरहने उनको भनाइ छ। अघिल्लो आम निर्वाचनमा कैलाली ४ मा तत्कालीन माओवादी नेता लेखराज भट्टसँग भण्डारी पराजित भएका थिए।