डडेल्धुरा यात्रा स्थगित गर्न प्रधानमन्त्री देउवालाई निर्वाचन आयोगको आदेश
धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुराको यात्रा स्थगित गर्न निर्वाचन आयोगले आदेश दिएको छ। प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनावी कार्यक्रमका लागि डडेल्धुरा आउने तयारीमा थिए।
डडेल्धुरा आउने प्रवन्धका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो। तर, उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न र नगराउन निर्देशन दिने निर्णय गरेको हो।
स्रोतका अनुसार देउवाले सरकारी खर्चमै गृहजिल्ला आउने तयारी गरेका थिए। तर, त्यसमा आयोगले रोक लगाएको हो। सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने भन्ने आयोगको निर्णय छ।
आयोगले सरकारी स्रोतसाधन चुनावी कार्यक्रममा प्रयोग गर्न नपाउने आचारसंहितामा व्यवस्था गरेको थियो। तर, प्रधानमन्त्री देउवाले सरकारी सवारीमै डडेल्धुरा आउन खोजेपछि यात्रामा रोक लगाइएको हो।
प्रधानमन्त्री देउवा बुधबार नै आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको डडेल्धुरा आउने तयारीमा थिए। बिहीबारदेखि उनको चुनावी कार्यक्रम तय गरिएको थियो।