देउवा र ओलीलाई हेलिकोप्टर प्रयोगको अनुमति
धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हेलिकोप्टर प्रयोगको अनुमति दिइएको छ।
आजदेखि प्रतिनिधि सभा र प्रदेश सभ सदस्यको निर्वाचनको प्रचार गर्न पाइने भएको हो। घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। उनीहरुले सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन्।
चुनाव प्रचारका लागि प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति धनगढीमा छन्। उनी आज गृहजिल्ला डडेलधुरा जादैछन्। निर्वाचन आयोगको अनुमतिमा उनी हेलिकोप्टरमा डडेल्धुरा जाने भएका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति लिएका छन्। उनी पनि आज धनगढी आउदैछन्। ओलीले पनि मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन्। उनी भोलि (शुक्रबार) दार्चुला जानेछन्। निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ। हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने भनिएको छ।
प्रधानमन्त्री र मन्त्रीले आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्ने हुन्छ। मन्त्री नै उम्मेदवार भए सरकारी स्रोत साधन प्रयोग नगरी चुनाव प्रचार गर्न पाइन्छ। स्थानीय तहका जनप्रतिनिधिले भने चुनाव प्रचारमा संलग्न हुन पाइँदैन।