एमाले अध्यक्ष ओली दार्चुलामा
धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेका छन्। बिहीबार धनगढी आएका ओली हेलिकोप्टर मार्फत आज दार्चुला पुगेका हुन्।
चुनावी देश दौडाहको सुरुवात गर्न ओली चुच्चे नक्सा समेटिएको जिल्ला दार्चुला पुगेका हुन्। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली दार्चुला पुगेका बताइएको छ। एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ (दार्चुला) बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमले बताएको छ। अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रुपमा उठाउने भएको हो।
यस्तै भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको दाबी एमालेको छ। दार्चुला सदरमुकाम खलंगामा आज एमालेले चुनावी सभाको आयोजना गरेको छ। आज नै दिउँसो बैतडी र कञ्चनपुरमा पनि ओलीले चुनावी सभालाई सम्बोधन गर्न कार्यक्रम रहेको छ।