देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशमा केही हुँदैनः लिङ्देन
पूर्वी नवलपरासीः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवालाई जति पटक प्रधानमन्त्री बनाए पनि देशलाई कुनै फाइदा नहुने टिप्पणी गरेका छन्। 'पाँच पटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेका देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाएर के हुन्छ ?' उनले प्रश्न गरे, 'पाँचपटक प्रधानमन्त्री भइसक्दा पनि देउवाका कारण देश र जनताले के पाए र उनलाई फेरि मत हाल्ने हो ?'
कावासोतीको डण्डामा आयोजित राप्रपाको चुनावीसभामा शनिबार बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको परीक्षणमा देउवा असफल भइसकेको बताए। उनले मंसिर ४ गते मत परिवर्तन गरेर राप्रपालाई मत दिन आग्रह गरे। माओवादी र कांग्रेसको गठबन्धनबाट देशले मुक्ति चाहेको र त्यसको नेतृत्व गर्न आफ्नो दल आएकाले निर्धक्कसँग हलोमा मतदान गर्न उनले अपिल गरे।