निर्वाचन आयोगले कोमल वलीलाई सोध्यो स्पष्टीकरण
काठमाडौंः निर्वाचन आयोगले दाङ ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा दल र उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था रहेको तर वलीले बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। उनलाई स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन भनिएको छ।
शुक्रबार वलीले विद्यार्थीलाई राखेर चुनावी कार्यक्रम गरेकी थिइन्। ‘निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ।