सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा पुगेर देउवाले भने–केपी ओलीले धेरै पटक संविधान मिच्न खोजे 

२०७९ कार्तिक ३०, ०६:१४ खबर संवाददाता

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन्। गृहजिल्ला डडेल्धुराको भागेश्वरा गाउँपालिका–३ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधामन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताए।

संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ। गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनले मतदातासँग अपिल गरे।

उनले भने, ‘‘तपाईंहरुलाई थाहा छ। केपी ओलीले संविधान मिच्न खोज्नुभयो। त्यो पनि दुईरदुई पटक। उहाँहरुले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने तपाईं हामी सबैलाई लागेको थियो। तर, उहाँले उल्टो गर्नुभयो। दुःख गरेर बनाएको नयाँ संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो। त्यसकारण हामीले गठबन्धन गरेका हौँ। संविधान मिच्नबाट जोगायौं। विकास निर्माणका धेरै काम अघि बढेका छन्। अझै गठबन्धनलाई लामो समयसम्म कायमै राखेर हामी देशमा विकास गर्न चाहन्छौं।’’

चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेल्धुरा पुगेर चुनावी सभालाई सम्बोधन गरेका हुन्। उनले भागेश्वर गाउँपालिका विकट रहेको र प्रायः सबै गाउँमा सडक पुगेको उल्लेख गर्दै अब सडक कालोपत्र गरिने बताए। सदरमुकाम बागबजारदेखि बगरकोट–शीर्ष–रुपालसम्मको सडक कालोपत्र गर्ने काम भइरहेको उनको भनाइ छ। उनले भने, ‘‘अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक कालोपत्र गर्नेछौँ।’’

खेतबारीमा सिँचाइको समस्या रहेको भन्दै उनले सिँचाइको व्यवस्था गर्ने र यहाँका गाउँबस्तीमा भएको खानेपानीको समस्या समाधान गर्ने बताए। प्रधामन्त्री देउवाले बुधबार बोगटासँगै अमजयमेरु गउँपालिका–५ को देवल र गन्यापधुरा गाउँपालिका–३ को सकायलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन्।

कमेन्ट लोड गर्नुस