डडेल्धुरा क्याम्पसमा कार्यरत हेमा भट्टलाई निर्वाचन आयोगको स्पष्टीकरण
धनगढीः डडेल्धुरा क्याम्पस डडेल्धुरामा कार्यरत हेमा भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
क्याम्पसको पुस्तकालयमा कार्यरत भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधेको बताइएको छ।
निर्वाचन आयोगले भनेको छ,‘ निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ। उल्लेखित सन्दर्भमा तपाईंलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।
उनलाई आयोगले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण दिन भनिएको छ। आयोगले उनलाई विभागीय कारवाही किन हुनुनर्पे भनेको हो।