तिमी रोकियौ भने हामी रोकिनेछौँ
तिमी रोकियौ भने हामी रोकिनेछौँ।
उसले चित्र होइन,
विचित्र प्रस्तुत गरिरहेको छ,
उसले समय होइन,
वेदना पोखिरहेको छ,
अव्यक्त वेगहरुको,
भाव व्यक्त गरिरहेको छ,
उसले तिमिलाई हैन,
आफुलाई बुझ्न खोज्दैछ,
अनि म को हुँ?
उसलाई बुझाउन खोज्ने,
उसलाई सुनाउन खोज्ने कि
तिम्रो गति यो यो हो भनेर।
महत्वको विषय त त्यो होइन,
हो त केवल उ कति घोत्लियो,
कति बगायो भावानुभुती सङ्ग?
कति ध्यान मग्न हुन सक्यो?
कति प्रस्तुत गर्न सक्यो, कति सकेन?
कति बुझ्यो, कति बुझेन?
कति सुल्झ्यो, कति सुल्झेन?
उसको बुझाई न म बुझाउन सक्छु,
न उसको वेदना व्यक्त गर्ने,
भाव बन्न सक्छु,
न भावनाको गति बन्न सक्छु,
न उसको माध्यम बन्न सक्छु,
न उसको रस बन्न सक्छु,
बन्न सक्छु त केवल,
त्यो खाली कागज,
जहाँ उसले आफुलाई,
मज्जाले पोख्न सकोस्।
मलाई गुनासो छैन,
उसले त्यस्तो सम्म सोच्ने रहेछ,
मैले उसलाई हप्काउनु छैन,
कि कति सम्म गलत गरेको रहेछ?
हिजो म सङ्ग पनि वेदना थिए,
म पनि बालक थिएँ,
हो त्यही पलमा म जिउन चाहन्थें
त्यही पलमा खुशी खोज्न चाहन्थेँ
तर.....
आज तिम्रो यो खुशीले,
म खुशी हुन पाएको छु,
तिम्रो बालापनले,
मलाई बालक बन्न दिएको छ,
आज मैले गुमाएका प्रत्येक चिज,
तिम्रा पाइला पाइलाले दिइरहेको छ,
म प्रत्येक पल आनन्दित छु,
तिमिले गरेको रहर देखेर,
तिमी भित्रको चञ्चलता देखेर,
तिमी भित्रको भाव बुझेर,
हो म तिमिलाई,
मेरो समय खुशिले दिन सक्छु,
त्यही समयमा,
मैले मेरो खुशी भेटाउँछु।
आज म साहस गर्छु कि,
तिमी,मज्जाले प्रस्तुत होउ,
जहाँ बहकिन मन छ,
नडराई बहकेउ, म छु
रोक्नेलाई रोक्न देउ,
तिमी नरोकियौ,
तिमी रोकियौ भने,
म रोकिनेछु,
यस्तो भयो भने,
हाम्रो वर्तमान रोकिनेछ,
रोकाइले भविष्य अन्धकार बनाउनेछ
हो त्यसैले मनलाई बहकिन देउ। -नवराज जोशी