सुदूरपश्चिममा माओवादी दलको नेतामा रस्साकस्सी, भट्ट र भाटबिच जुटेन सहमति
धनगढीः सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको नेतामा रस्साकस्सी जारी छ। माओवादी केन्द्रका प्रदेश सभा सदस्य खगराज भट्ट र ओमविक्रम भाट (सरल)बिच दलको नेताका लागि रस्साकस्सी जारी रहेको हो। माओवादी केन्द्रको संसदीय दलको नेता चयनका लागि शनिवार दिउँसो साढे ३ बजे बैठक बसेको थियो।
भट्ट र भाटबिच सहमति नभएपछि बैठक स्थगित गरिएको छ। माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्ट र केन्द्रीय सदस्य सरलबिच सहमति नजुटेपछि कुनै निर्णय नभएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव)ले बताएका छन्। उनले दलको नेता चयनका लागि आइतवार बिहान १० बजे फेरि बैठक बस्ने गरी स्थगित गरिएको बताएका हुन्।
पार्टीको बैठकसमेत भएकाले समय अपुग भएको चौधरीले बताए। चौधरीले भट्ट नै दलको नेता हुने दाबी गर्दै आएका थिए। भट्ट र भाटको बिचमा मात्रै पनि छलफल भएको थियो। तर, सहमति भने हुन सकेन्। सुदूरपशिममा माओवादीका ११ जना प्रदेश सभा सदस्य छन्। उनीहरुमा अधिकांशले पार्टीको वरियताक्रमअनुसार भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने सुझाव दिएका थिए।