सुदूर नेपाललाई विश्वसँग जोड्दै

विधान बमोजिम दलको नेता चयन गरिएको जसपाको भनाई

२०७९ पुष १७, ०६:१२ खबर संवाददाता

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको अन्तरिम विधानको व्यवस्था बमोजिम दलको नेता चयन गरेको बताएको छ। दलको नेता चयनको विषयलाई लिएर सामाजिक सञ्जालमा देखिएको एक अर्कामाथिको आरोप–प्रत्यारोप र तल्लो स्तरको  टिप्पणीप्रति पार्टीको ध्यानाकर्षण भएको जसपाले जनाएको छ।

दलका प्रकाशन तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार विज्ञप्ति जारी गर्दै सो कुरा प्रष्ट पारेका हुन्। संसदीय दलको नेता चयनपछि दलमा आन्तरिक टिकाटिप्पणी व्यापक रुपमा भएपछि दलले सो कुरा प्रष्ट पारेको छ। आफ्ना विचार, विमति, गुनासा र असहमतिहरु संयमित र मर्यादित ढंगले आफू सम्बद्ध पार्टी फोरमभित्र राख्न पनि दलले आग्रह गरेको छ।

पार्टीलाई समृद्ध, व्यवस्थित र सुदृढ बनाउने काममा लाग्न पार्टी पङ्तिलाई आग्रह गरेको छ। “यसअघि र यस पटकको दलको नेता चयन प्रक्रिया विधानको व्यवस्था बमोजिम गरिएको हो, त्यसको सम्मान गर्नु हामी सबैको दायित्व हो”, सो दलले भनेको छ, “वर्ण, जाति, क्षेत्रका आधारमा व्यक्तिगत लाञ्छना र गालीगलौज गर्ने कार्य अक्ष्यम्य र अत्यन्त निन्दनीय छ, यस्ता कार्य नगर्न, नगराउन जनता समाजवादी पार्टी, नेपाल सम्बन्धित सबैलाई सचेत गराउँदछ।” विज्ञप्ति मार्फत भनिएको छ।

कमेन्ट लोड गर्नुस