प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्। उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गरेका हुन्।
सदनमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई २६८ सदस्यको समर्थन रहेको छ । उनको विपक्षमा दुई मत परेको छ भने तटस्थ शून्य छ।
२०७९ मङ्सिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि पुस १० गते उनी प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको पक्षमा मत दिएका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)का सांसदद्वय अशोककुमार राई र सर्वेन्द्रनाथ शुक्ला, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका सांसद अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलेसमेत सरकारको पक्षमा छन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारको विपक्षमा मतदान गरेका छन्।
तीन जना स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डललेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिए। प्रधानमन्त्रीलाई विश्वासको मतदान कार्यक्रममा ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा, सांसद मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत सहभागी भएनन्। गोरखापत्र