सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजै मुख्यमन्त्रीको दाबी, २ः३० बजेभित्र सभामुखको मनोनयन

२०७९ पुष २७, ०१:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज अपरान्ह मुख्यमन्त्रीको दाबी पेश र २ः३० बजेभित्र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह्र पाँच बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्ने समयावधि तोकेका हुन्। 

प्रदेशसभा सचिवालयमा दिउँसो २ः३० बजेभित्र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री पदको दाबी पेस गर्ने भएका हुन्। मुख्यमन्त्री एमालेको भागमा परेपछि माओवादी केन्द्रले सभामुख पाउने गरी भागबण्डा गरिएको छ। तर सो पार्टीले अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय गरेको छैन।

सभामुखका लागि सांसदहरु अक्कलबहादुर रावल, मानबहादुर धामी र भीम भण्डारीको रहेको चर्चा छ। रावल र धामी पहिलो प्रदेशसभा कार्यकालमा समेत सांसद थिए।

अछामबाट निर्वाचित रावल यसअघि माओवादी केन्द्रबाट प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए भने दार्चुलाबाट निर्वाचित मानबहादुर धामी यसअघि मन्त्री थिए।

प्रदेशसभा सचिवालयका अनुसार दिउँसो साढे दुई बजेसम्म मनोनयन दर्ता गर्ने समयतालिका निर्धारण गरिएको छ। निर्वाचन भने बिहीबार हुने गरी समय तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस