सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनियुक्त मुख्यमन्त्री शाहको परीक्षण यात्रा प्रारम्भ, पाउँलान त महिनादिनभित्रै विश्वासको मत?

२०७९ माघ २७, ०२:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शाहलाई शुक्रवार ३ः३० बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा कमलबहादुर शाह कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो हुन्। अन्य ६ वटै प्रदेशमा गैरकांग्रेस मुख्यमन्त्री छन्। तत्कालीन सत्ता गठबन्धन भत्केपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाएको थियो। अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। त्यतिबेला कांग्रेसले नागरिक उन्मुक्तिको साथ अवश्य खोज्नेछ। माओवादी संसदीय दलका नेता खगराज भट्टले आफ्नो दल प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने बताए। 

मुख्यमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतको परीक्षण नहुँदै राजीनामा दिएकाले संविधानको धारा १६८ (२) बाट नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै धारा १६८ (३) बाट मुख्यमन्त्री चयन गरिएकामा उनले असन्तुष्टि जनाए। ‘अबको एक महिना उहाँले चलाउनुहुन्छ, त्यसपछि फेरि हाम्रो पालो आइहाल्छ,’ उनले भने।

एक महिनामै सुदूरपश्चिम प्रदेशको सरकार ढलेको छ। नागरिक उन्मुक्ति पार्टीले जे माग राखेको थियो, त्यो सम्बोधन गर्ने अधिकार नभएका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद गुमाएका हुन्। संवैधानिक व्यवस्थाअनुसार रावलले बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै गर्दा नागरिक उन्मुक्तिका सातै जना सांसद काठमाडौंमा थिए।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री नियुक्त गरे। उक्त धारामा संविधानको धारा १६८ (१) र १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

नागरिक उन्मुक्तिले गत पुस २७ मा रावललाई समर्थन नदिएको भए सुदूरपश्चिममा पहिलो चरणमै धारा १६८ (३) बमोजिम कांग्रेसले सरकार बनाउने अवस्था थियो। कांग्रेसले उतिबेलै आफ्नो नेतृत्वमा १६८ (२) बमोजिमको सरकार बनाउन नागरिक उन्मुक्तिलाई समर्थन दिने प्रस्ताव राखेको थियो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ र नागरिक उन्मुक्तिका ७ गरी २६ सांसद छन्। बहुमतका लागि आवश्यक १ सांसद स्वतन्त्रबाट वा एकीकृत समाजवादीबाट जुटाउने कांग्रेसको योजना छ।

कमेन्ट लोड गर्नुस