‘जनयुद्ध दिवसमा सार्वजनिक विदा अख्तियारको दुरुपयोग हो’
काठमाडौं: नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक विदा दिनु एक किसिमले अख्तियारको दुरुपयोग भएको बताएका छन्। सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख्दै उनले त्यस्तो बताएका हुन्।
सांसद थापाले लेखेका छन्, '२०५२ फागुन १ गते थालिएको हिंसा जनयुद्ध थिएन, सशस्त्र संघर्ष थियो। जनयुद्ध वा क्रान्ति हुँदो हो त त्यसलाई बीचमै स्थगित गरी अलपत्र पारिने थिएन।' सशस्त्र संघर्षमा परी बलिदान दिनेप्रति उनले सम्मान प्रकट गरेका छन्।
जसले क्रान्तिका खातिर आफ्नो सर्वस्व गुमाउन आफूलाई समर्पित गरे तिनप्रति धोका र विश्वासघात भइरहेको बताउँदै एमालेका युवा नेता तथा सांसद थापाले लेखेका छन्, 'नक्कली जनयुद्ध दिवसका नाममा बलिदानी गर्नेहरुका सपनाको सौदाबाजी गरिरहेका छन्। व्यवहारमा चाहिँ पार्टीको नाम, झण्डा र चुनाव चिन्ह बदल्ने प्रस्तावसहित विरासत र अवशेषप्रति सम्बन्ध विच्छेद गर्न चाहिरहेका छन्।'
सांसद थापाले जनयुद्ध दिवस होइन, यो विरोधाभास र मजाकको अभ्यास मात्र हो भन्दै भनेका छन्, 'जनयुद्धको कार्यदिशा परित्याग गरेको झण्डै डेढ दशकपछि सरकारीस्तरमा जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको दुरुपयोग नै हो।'