सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री आज दिनभर सुदूरपश्चिममा, चारवटा महत्वपूर्ण कार्यक्रम तय

२०७९ फाल्गुन १, १०:३६ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज कैलाली र कञ्चनपुरको भ्रमण गर्दै छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिमको भ्रमण गर्न लागेका हुन्।

प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात कैलाली र कञ्चनपुरबाट गर्न लागेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। आज हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल कैलाली आउँदैछन्। गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले सुदूरपश्चिमका शीर्ष नेता र सांसदहरुले भेटेका थिए। गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भइसकेको छ। साढे पाँच अर्वका संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको छैन।

प्रधानमन्त्री दाहाल आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको स्थान निरीक्षण गर्ने छन्। त्यसपछि बिहान साढे बजे महेन्द्रनगरको खुलामञ्चमा हुने १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको दाहालले उद्घाटन गर्ने छन्। 
नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न दाहाल सो कार्यक्रममा पुग्ने कार्यक्रम समेत तय भएको छ।

एकै दिनका चार कार्यक्रम सम्पन्न गरेर दाहाल आजै संघीय राजधानी फर्किने कार्यतालिका छ। प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

कमेन्ट लोड गर्नुस