जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छः उपेन्द्र यादव
काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन्।
बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुुनुहुन्छ।’ जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन्।
मन्त्रिपरिषद बैठकपछि पुन ३ दलको बैठक बस्ने अध्यक्ष यादवले जानकारी दिए। छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताएका छन्। अहिलेको सत्ता गठबन्धन टुट्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले अहिले नै टुंगो नभएको बताए।
‘जबसम्म अहिलेको सरकार साझेदार दलहरुले लाइन क्लियर हुँदैन तबसम्म नयाँ पुरानो के अर्थ हुन्छ र ?’ उनले भने, ‘को कता भन्ने लाइन क्लियर भएको छैन।’ प्रचण्डले भने सार्वजनिक रुपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राखेको र अहिले पनि त्यसमै अडिग रहेको यादवले बताए।