सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियाको ’कलिङ भिसा’ पाएकालाई भोलिदेखि श्रम स्वीकृति

। फोटो स्रोत ।
२०७५ चैत्र १७, ०५:१९ खबर संवाददाता

सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ। यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ। वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको विभागका एक निर्देशकले अनलाइनखबरलाई जानकारी दिए।

सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको भन्दै गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए। ती संयन्त्रमाथि गृह मन्त्रालयमार्फत अनुसन्धान गरेर हाल अदालतमा ठगीको मुद्दा विचाराधीन अवस्थामा छ। यही बीचमा कामदारले मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिनुनपर्ने र लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो।

समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि पुरानो बिचौलिया (भेन्डर)मार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान नेपालले लिएको थियो। तर, मलेसियाले पनि तत्कालै भेन्डर नफेर्ने संकेत गरेको थियो। यसैका कारण श्रम समझदारीपछि पनि कलिङ भिसा आएकाहरुलाई पनि मलेसियाका लागि श्रम स्वीकति दिइएको थिएन। बीचमा २० जना कलिङ भिसा पाएका कामदार मलेसिया दूतावासको सिफारिसमा उडेका थिए। त्यसपछि सरकारले कलिङ भिसा आएका कामदारको विवरण म्यानपावरहरुसँग मागेको थियो। मन्त्रालय स्रोतका व्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन्।

अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा खोल्ने तयारीमा सरकार छ। अब संस्थागततर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउनेछन्। सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ। मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गरिसकेको छ। यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्षण गर्न सक्ने गरी तोकेको थियो।

अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन्। यसबाट स्वासथ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको छ।  मलेसियासँगको श्रम समझदारीको मर्ममै रहेर नयाँ कामदार पठाउन लागिएको सरकाकरो दावी छ।
 

कमेन्ट लोड गर्नुस