सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट राजनीतिक ‘कोर्ष करेक्सन’, प्रदेश सभामा कुन नेताले के भने?

२०७९ फाल्गुन २१, ०३:५० खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका संसदीय दलक नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिमबाट राजनीतिक ‘कोर्ष करेक्सन’ भएको बताएका छन्। प्रदेश सभामा बोल्दै सोडारीले सुदूरपश्चिमबाट चुनाव अघिको गठबन्धन ब्यूँतिएर नेपाली राजनीतिलाई नयाँ दिशा दिएको बताए।

‘यो प्रदेश सभा यस्तो टर्न प्याइन्ट हो, जहाँबाट नेपाली राजनीतिले कोर्ष करेक्सन गरेको छ, दुई महिना अघिको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएर करिब दुई तिहाईको मतमा अगाडि बढ्दैछौँ,’ उनले भने। सुदूरपश्चिम राजनीतिक ‘कोर्ष करेक्सन’को ‘गेम चेन्जर’ रुपमा प्रमाणित भएको सोडारीको दाबी छ।

‘यो गेम चेन्जर ठाउँ हो, हामीले देखाइदिएका छौँ, सधै पूर्वबाट हुन्थ्यो, अघिल्लो पटक कर्णालीबाट भएको थियो, यो पटक सुदूरपश्चिमबाट भएको छ,’ उनले भने, ‘त्यस कारण सुदूरका मानिस राजनीति गर्न जान्दैनन्, पछाडि छन् भन्ने होइन, देशको राजनीतिलाई नयाँ दिशा दिने ठाउँ पनि हो भन्ने प्रमाण आज दिएको छ।’

संविधानमाथिको खतरा बढेपछि पुरानै गठबन्धन ब्यूँतिएको उनले बताए। ‘एमालेमा कति चाडै संसद विघटन गरौँ, मध्यावधि चुनावमा जाऔँ भन्ने भावना छ, यसले मुलुकमा संविधानमाथि खतरा छ,’ उनले भने, ‘त्यसैले संविधानको रक्षाका लागि हामी एक ठाउँमा आएका छौँ।’
यो गठबन्धनले रेशम रिहाइलाई प्राथमिकता देओस्
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताए। प्रदेश सभामा बोल्दै चौधरीले आफ्ना सांसदलाई मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न निर्देशन दिए। 

नागरिक उन्मुक्तिले अहिलेको आठ दलीय गठबन्धनले टीकापुर घटनामा दोषी रेशम चौधरीको रिहाइ मुद्दा प्राथमिकतामा राख्नु पर्ने माग गरेको छ। ‘अहिलेको नयाँ समिकरणमा हामी पनि छौँ, हाम्रो माग मुद्दालाई प्रदेश सरकार र अहिलेको गठबन्धनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने, ‘हामी कुनै सत्ताका लागि मात्रै लागेका सांसद होइनौँ।’

एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा २६ माघमा राजेन्द्र सिंह रावल पदमुक्त भएका थिए। रेशम चौधरी रिहाइको आश्वास मात्रै पाएकोले त्यस बेला विश्वासको मत दिन नसकेको चौधरीले बताए। टीकापुर घटनालाई राजनीतिक रुपमा निराकरण गर्नु पर्ने उनले बताए।
सत्ताभित्र प्रतिपक्षी भूमिकामा रहन्छौँः माओवादी नेता भट्ट
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता खगराज भट्टले माओवादी सत्ताभित्र प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्। मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णयको जानकारी गराउँदै प्रदेश सभा बैठकमा उनले यस्तो बताएका हुन। माओवादी केन्द्रले शाहलाई विश्वासको मत दिने निर्णय गरेसँगै सत्ता पक्षको बेञ्चमा बसेको छ।

राजनीतिक दलहरु प्रतिस्पर्धी नभएर मिलेर अगाडि बढ्नु पर्ने बताउँदै भट्टले प्रतिपक्षी दलले पनि सत्ताधारी भूमिका खेल्नु पर्नेमा जोड दिए। ‘दलहरु प्रतिस्पर्धी भएर होइन, परिपुरक भएर अगाडि बढ्नु पर्छ भन्ने बुझाइले आज हामी सरकारको पक्षमा उभिएका छौँ,’ उनले भने, ‘त्यसैले हामी सत्ता पक्षभित्र पनि प्रतिपक्ष हुने छौँ, प्रतिपक्षले पनि सत्ताधारी भूमिका खेल्ने गरी यो प्रदेश सभामा प्रस्तुत हुनेछन्।’ आफ्नै नेतृत्वको सरकारलाई खबरदारी गर्ने दायित्व सत्तापक्षको बढि हुने उनले बताए। ‘सरकारले राम्रो काम ग–यो भने त्यसको रक्षा गर्ने दायित्व प्रतिपक्षको पनि हो।’ नेकपा एमालेबाट संविधान र व्यवस्थामाथि प्रश्न उठेपछि नयाँ गठबन्धन बनेको उनले बताए।
प्रदेश संरचना खारेजीको माग
सुदूरपश्चिम प्रदेश सभामा प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठेको छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खेमादेवी बिष्टले प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेकी हुन्।
बैठकमा दलको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा उनले भनिन्, ‘प्रदेश सरकारमा भ्रष्टाचार मात्रै मौलाइरहेको छ, जनताले पनि चाहेका छैनन्। जनता पनि प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर रोडमा उत्रिरहेका छन्।’ साथै उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत पनि दिन नसकिने जानकारी गराइन्। राप्रपाले यसअघि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। सुदूरपश्चिम प्रदेश सभामा राप्रपाबाट बिष्ट एक मात्रै सांसद हुन्।

कमेन्ट लोड गर्नुस