कांग्रेस केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक आज बस्दै
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मत र सरकार विस्तारबारे छलफल गर्न कांग्रेसले दुई समितिको बैठक बोलाएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्नेछ। आजै मध्याह्न १२ बजे संसदीय दल कार्यसमितिको बैठक पनि बस्दैछ। संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जानकारी दिइएको छ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। यसअघि प्रमुख प्रतिपक्षको बेन्चमा बसेको कांग्रेस सत्ता पक्षको बेन्चमा सर्ने भएको छ। एमाले भने प्रतिपक्षीको बेन्चमा सर्ने तयारी छ। गत पुस १० गते एमाले माओवादी गठबन्धनमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेपछि समर्थन फिर्ता लिँदै फागुन १५ गते एमाले सरकारबाट बाहिरिएको थियो।
दुई महिनामै माओवादी एमाले गठबन्धन भत्किएपछि प्रधानमन्त्री दाहालले सोमबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत १० दलको समर्थनमा बनेको नयाँ समीकरणमा सत्ताको भागबन्डा मिलाउन भने प्रचण्डलाई सकम भएको छ।