कञ्चनपुरका ६ क्याम्पसमा समान नेतृत्व, ९ क्याम्पसको निर्वाचन अनिश्चित
कञ्चनपुरः कञ्चनपुरका १६ मध्ये ६ क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको नेतृत्व समान दुई–दुईमा निर्वाचित भएको छ। नेपाली कांग्रेसनिकट नेविसंघबाट महाकाली बहुमुखी क्याम्पस बेलौरीमा नीरज भण्डारी र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा कृष्णराज जोशी स्ववियु सभापतिमा निर्वाचित भएका छन्।
यस्तै नेकपा एमालेनिकट अनेरास्ववियुबाट रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा दिलेन्द्रप्रसाद बडू र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा देवबहादुर साउँद स्ववियु सभापतिमा निर्वाचित भए। यसैगरी नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट जनता क्याम्पस पुनर्वासमा मनोज साउँद र रामपुर बहुमुखी क्याम्पस कलकत्तामा सरस्वती तिरुवा स्ववियु सभापतिमा निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालयसहित सुदूरपश्चिम विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले पनि स्ववियु निर्वाचनको तयारी गरेका थिए। तर कञ्चनपुरका १६ वटा क्याम्पसमध्ये ६ वटा क्याम्पसमा मात्रै आइतबार निर्वाचन भएको हो। निर्वाचन भएका सबै क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै सहमतिका आधारमा स्ववियु समिति चयन गरिएको थियो। अन्य ९ क्याम्पसमा भने विद्यार्थी संघसंगठनहरूले गरेको तालाबन्दीका कारण चुनाव अनिश्चित बनेको छ। विद्यार्थी आन्दोलनमार्फत गरिएका सहमति कार्यान्वयन गर्न गराउन, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्ने गरिएको छ।
यसअघि २०७३ फागुनमा कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस र रामपुर बहुमुखी क्याम्पस तथा बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। अन्य क्याम्पसमा १४ वर्षपछि मात्रै स्ववियु निर्वाचन भएको हो।