सुदूर नेपाललाई विश्वसँग जोड्दै

आबुधाबीमा अलपत्र १ सय १४ जना नेपालीको उद्दार प्रकृया रोकियो, खाना र पानीको समस्या

२०७५ चैत्र २१, १२:३३

यूएईको आबुधाबीमा अलपत्र परेका २ सय जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार प्रक्रिया रोकिएको छ। यूएई सरकारले चासो देखाएर सुरु भएको उद्दार गरेर कामदारलाई आफ्नो देश फर्काउने प्रक्रिया कानुनी प्रकृया लम्बिएपछि रोकिएको हो।

जसका कारण १ सय १४ जना नेपाली घर फर्किन नपाउँदै फेरि समस्यामा परेका छन्। उनीहरुललाई अहिले पानी र खानाको समस्या भएको छ। अलपत्र परेकामध्ये ७६ जना नेपालीलाई यसअघि उद्दार गरेर नेपाल फर्काइएको छ। 

कम्पनी बन्द गरेर कम्पनी मालिक युएई छोडेर गएकाले कम्पनीमा काम गर्ने कामदार समस्यामा परेका हुन्। अलपत्र मध्ये ४ जना महिला सहित २ सय जना नेपाली थिए। ती मध्ये ५ पटक गरेर ७६ जना नेपालीलाई नेपाल फर्काइएको हो। बाँकी ४ जना महिलासहित १ सय १४ जना अहिले पनि नेपाल फर्किन पाएका छैनन्। 

कम्पनीले राखेको क्याम्पमा रहेकाहरुलाई केही दिन यता खाना र पानीको समस्या हुन थालेको हो। काम नपाएर पैसा नभएपछि खाना र पानीको अभाव भएको मोरङ उर्लाबारीका रुपेश खुलालले बताए। अबुधाबीको अल वासिता इमिरेट्स क्याटरिङ कम्पनीमा कार्यरत उनीहरुलाई १० महिनादेखि काम बिहीन बनाएर राखेपछि समस्या भएको हो। नेपालबाट यो कम्पनीमा सन हिल्स म्यानपावरले कामदार ल्याएको हो।

कम्पनीमा समस्या आएपछि कम्पनीका सञ्चालक सूर्य अधिकारीले यस अघी यूएई आएर दूतावास र कम्पनीसँगको समन्वयमा अलपत्र कामदारको उद्दार थालेको थियो। म्यानपावरका सञ्चालक अधिकारीले फेरि समस्या आएको विषयमा नेपाली दूतावास, कामदार र कम्पनीसँग समन्वय गरेर समाधानको प्रयासमा गर्ने बताए।

उनले अलपत्र परेकामध्ये झण्डै ६४ जनाले मात्रै पहिलो करार सम्झौता पूरा गर्न नपाएको भन्दै बाँकी कामदारले भने दुईदेखी ७ बर्षसम्म त्यही कम्पनीमा काम गरिरहेको बताए। अहिले उद्दार प्रकृया रोकिएका १ सय १४ मध्ये धेरै कम्पनीमा समस्या देखिएपछि बिदामा गएका थिए। तर कम्पनीले ५० प्रतिशत क्षपिपूर्ति दिने भन्दै बोलाएपछि फेरि यूएई पुगेका थिए। ‘सबैको हातमा पासपोर्ट भए पनि काम गरे बापतको पैसा नपाउँदा नेपाल फर्किन सकेका छैनौं’ गोरखाका रबिन्द्र श्रेष्ठले भने।

उद्दारका लागि सबै प्रयास गर्छौं दुतावास 
 
यूएईको राजधानी आबुधाबीबाट ४० किलोमिटरमा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा बस्दै आएका सबै कामदारले लामो समयसम्म आफूहरुको उद्दार नभएको भन्दै ४२ जना कामदार मगंलबार नेपाली दूतावास पुगेर गुनासो गरेका थिए।

समस्या बारे नवनियुक्त राजदूत कृष्णप्रसाद ढकाललाई भेटेर कामदारले जानकारी गराएका थिए। राजदूत ढकालले नेपाली कामदारको उद्दार प्रकृयाका लागि सबै प्रयास गरिने बताए। बुधवार मात्रै राजदूत ढकालले कुटनीतिक माध्यममार्फत यहाँको श्रम मन्त्रालय तथा अन्य बिभिन्न निकायमा समस्या समाधान गर्न अनुरोध गरेको छ।

यस्तै कामदारको बास तथा खाना र पानीलाई समेत समस्या भएको बारे बुझ्न दुतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँलले कामदार रहेको क्याम्पमा पुगेर स्थलगत अनुगमन पनि गरेको छ। दूतावासका प्रवक्ता समेत रहेका फुयाँलले कामदारलाई तत्काल आवश्यक खाद्यन्न उपलब्ध गराउन र उद्दारका लागि कुटनीतिक पहल सुरु गरिसकेको कामदारलाई जानकारी गराएको थियो।

कामदारको मुद्दा हेरिरहेको श्रम अदालतमा दूतावासले बिहीवार प्रतिनिधि पठाउने र कामदारको मुद्दा दुतावासले लड्न सक्ने र क्षतिपूर्ति दिलाउन सक्ने कानुनी प्रकृया बारे बुझ्ने जनाएको छ। दूतावासले यही कम्पनीमा अलपत्र परेका अन्य देशका कामदार सम्बन्धित मुलुकका युएईमा रहेका दुतावाससँग पनि समन्वय गरेर काम गर्ने जनाएको छ। यसअघि फर्किएका ७६ जना नेपालीपनि दूतावासकै पहलमा नेपाल फर्काइएको हो।

कामदारको अवस्था बुझ्न दूतावासका उपनियोग प्रमुख फुयाँल, जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलम तथा सहदेव गिरी मजदुर क्याम्प पुगेका थिए। दूतावासका प्रतिनिधिसँगै क्याम्प पुगेका गायक प्रकाश पौडेलले तत्कालका लागि आवश्यक खाद्यन्न सहायता गरेको छ। कामदारले तीन दिनदेखि खान नपाएको गुनासो गरेपछि पौडेलले ३८ किलो चामल , २२ किलो दाल र १२ किलो सोयाविन सहयोग गरेको हो।  बिहीवारदेखि उनीहरुको व्यवस्थापनका लागि तयारी भइरहेको नेपाली दूतावासले जनाएको छ।साभार - उज्यालोअनलाईन

कमेन्ट लोड गर्नुस