दासत्वबाट मुक्ति (प्रथम प्रकरण)
नारायणप्रसाद अवस्थीः अकिञ्चन जी महाराजको आश्रम, कलिकाल का कलुषित प्राणीहरुका लागि आशाको अन्तिम केन्द्र थियो। निर्जन वनको बीचमा इन्द्रियहरुलाई बसमा राखेर बसेका हुनाले उनलाई बनराज, जितेन्द्रिय आदि नामले समेत चिनिन्थ्यो।
मानवका समस्याको वास्तविक पहिचान गरेर सही र अचुक समाधान (एकै वाक्यमा मात्र ) दिनु उनको प्रसिद्धिको मूल कारण थियो। एक दिन एकाबिहानै आश्रममा लटपटकुमार आफ्नो समस्या सहित आइपुग्छन्। आश्रमका शिष्यहरु मार्फत आफ्नो नाम दर्ता गरिसके पश्चात अपराह्न ठिक १२ बजेका लागि महाराजश्रीसँगको दर्शन भेट निश्चित हुन्छ। लटपटकुमारको पालो आउँछ र उनी महाराज श्रीको कक्षमा प्रवेश गर्छन्। तपयोगद्वारा सिद्धि प्राप्त महाराज जी मौन समाधिमा रहेका बेला सेवकले लटपटकुमारलाई आफ्नो पृष्ठभूमि शब्दद्वारा महाराजश्रीको चरणमा समर्पण गर्न लगाउँछन्।
लटपट कुमारले बिन्ति विसाउदै भने, 'मेरो आशाका अन्तिम विन्दु, साक्षात् परमात्मा स्वरूप, महाराजश्रीको चरणमा सष्टाङ्ग दण्डवत् प्रणाम! 'महाराज! अभावनगरीमा जन्मेको मेरो बाल्यकालको नाम विश्वास थियो। जसले जे भने पनि पत्याई हाल्ने मेरो स्वभाव थियो। बुवाबाट प्राप्त प्रेरणा र अध्ययनप्रतिको लगावका कारण प्रतिकूलता कै बावजुल पनि मैले समाजवादको बारेमा राम्रो अध्ययन गरेको थिएँ। राज्यले नागरिकको औपचारिक प्रमाण दिई नसक्दै म अभावनगरी छोडेर समाजवादतर्फ अघि बढेँ। मेरो गन्तव्यमा बिपी मार्ग हुँदै पुगिन्थ्यो। बाटोको बारेमा राम्रो ज्ञान भएको म आत्मविश्वासका साथ निरन्तर अगाडि बढी रहेको थिएँ। मार्गमा एक्लै हुँदासम्म सबै ठिकठाक थियो; तर, जब मेरो भेट त्यहीँ मार्गमा हिँडिरहेको एक हुलसँग भयो अनि मेरो जिन्दगी नै बदलिन पुग्यो।'
लटपटकुमारले नरोकिइ भन्यो, 'त्यो हुलको नेतृत्व खेरलालले गरेका थिए। उनले जति मौका पाए पनि खेर फाल्ने भएकाले उनको नाम खेरलाल रहन गएको हो भनिन्थ्यो। जब म समाजवादीहरुको त्यो भीडसँग नजिकिए मलाई खेरलालको नेतृत्व स्वीकार गर्दै सबैले झै उनलाई दाइ भन्न लगाइयो। सुरुवातमा उनीहरू पनि बिपी मार्गबाटै अगाडि बढी रहेका कारण मैले सबै सर्तहरु सहजता पूर्वक स्वीकार गर्दै उनीहरूसँगै अगाडि बढ्न थालेँ। यात्राको क्रममा मैले पढेको, बुझेको समाजवादभन्दा फरक अस्वाभाविक हर्कतहरु खेरलाललगायत उनका आसेपासेहरुबाट गरिँदा मैले विरोध जनाई रहन्थे। तर, उनीहरू त्यसलाई बाध्यताको उपज भन्दै टाल्ने गर्थे। अनपेक्षित व्यवहारहरुलाई विरोध सहित सहँदै म उनीहरूसँगै अघि बढिरहे; तर, गडबड तब भयो जब उनीहरू बिपी मार्ग छोडेर अर्कै बाटोमा हिंड्न थाले। मलाई स्पष्ट थाहा थियो त्यो बाटो समाजवादमा पुग्ने बाटो थिएन!!'
मैले आफ्नो पूरा तागत लगाउँदै चर्को स्वरमा सम्झाउन खोजे, 'हामी गलत बाटोमा जाँदै छौँ, खेरलालजी फर्किनुस् भने। तर, खेरलालजीको जयजयकारमा गुन्जिएको हल्लाले मेरो आवाज मेरै कानसम्म पनि पुग्न पाएन। मैले एकछिन विश्राम गर्दै पुनः बिपी मार्गमा एक्लै भए पनि पाइला चाल्ने निधो गरेँ र खेरलालको दासत्वबाट मुक्त भएको घोषणा गरेँ.......
क्रमशः........