बेपत्ता र सत्य निरुपण विधेयक छिटो अघि बढाउनुउर्छः पूर्वप्रधानमन्त्री भट्टराई
धनगढीः पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्।
तत्कालीन दस वर्षे जनुयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका विद्यार्थी नेता पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको जिकिर गरे।
उनले भने, “शान्ति प्रक्रिया सुरु भएको र संविधान निर्माणको लामो समय व्यतीत हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएको छैन।” हालसालै मात्र प्रमुख दलहरुबीच सो सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष भट्टराईले भने, “विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने भएको छ। अब आरोप प्रत्यारोप नगरिकन संवेदनशील विषयलाई छिटोभन्दा छिटो टुङ्गाउनुपर्दछ।”